छविलालको बयानलाई आधार मानेर मलाई पक्राउ गर्न खोजिँदै छ : रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छविलाल जोशीलाई पक्राउ गर्नुको पछाडि आफूलाई पक्राउ गर्ने उद्देश्य रहेको दावी गरेका छन्।

उनले आज साँझ फेसबुक लाइभमा सहकारी प्रकरणमा विषयमा आफ्नो प्रष्टिकरण दिँदै जोशीको बयानबाट नयाँ सूचना पाइने र त्यही सूचनाका आधारमा आफूलाई पक्राउ गर्ने उद्देश्यका साथ छविलाललाई पक्राउ गरिएको बताए।

उनले आफूलाई संसदीय छानबिन समितिको प्रतिवेदनले नै सहकारी ठगीमा संलग्न नभएको तर गोर्खा मिडियामा रकम आइसकेपछि आफू त्यहाँ रहेको समयमा रकम हिनामिना भएको पाइएमा मात्रै कारबाही गर्न सिफारिस गरेको जिकिर लिएका छन्।

यदि आफू कार्यरत रहेको खण्डमा कुनै कैफियत देखिएमा कारबाही भोग्न तयार रहेको पनि उनले बताए। उनले सहकारीको विषयमा संलग्न नभएको अवस्थामा पनि सहकारी ठगी गरेको भनेर प्रमाणित गर्न खोज्ने र समाचार आफ्नो विषयमा मात्रै बनाउने अवस्थाप्रति भने उनले आक्रोश पोखे। 

अनधिकृत धन आएको भए र आफू संलग्न रहेको पाइएमा वा गैरकानुनी क्रियाकलाप भएको भए आफू जिम्मेवारी लिन तयार रहेको बताए।