दुर्गा प्रसाईंले आरोप स्विकारे

 सरकारी वकिलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उसकै कार्यालयमा आज बयान लिएको छ। उनीसँग करिब २ घण्टा बयान लिएको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन्। 

बयानका क्रममा प्रसाईंले आफूमाथि लागेको आरोप कबुल गरेका छन्। यसअघि आजै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको छ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मङ्गलबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्युरो र जिल्ला अदालत काठमाडौंसँग उनलाई पक्राउ गर्नुको कारण मागेको हो।

मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको थियो। साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो।​​

प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य लगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए।