लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन् : राजदूत लम्साल

 इजिप्टका निम्ति नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएका छन् । लेबनान समेत हेर्ने जिम्मेवारी पाएका लम्सालले नेपाली रहेका स्थानमा हाल असहज अवस्था नरहेको बताए ।

“लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सबै सुरक्षित हुनुहुन्छ,” राजदूत लम्सालले  भने, “पछिल्ला दिनमा दक्षिणी लेबनानमा तनाव बढेको छ । अधिकांश नेपाली उक्त क्षेत्रमा हुनु हुन्न ।”

इजरायलले दक्षिण लेबनानस्थित हिजबुल्लाहका अखडाहरूमा आक्रमण गरिरहेको छ । इजरायलको आक्रमणमा परी लेबनानमा पछिल्लो दुई दिनमा ४९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली हवाई आक्रमणमा परी लेबनानमा ज्यान गुमाउनेमा ३५ बालबालिका र ५८ महिला समेत छन् । इजरायलको आक्रमणबाट एक हजार ६०० जनाभन्दा बढी लेबनानी घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिनमा इजरायलले हिजबुल्लाहका एक हजार ३०० अखडामा आक्रमण गरेको छ । लेबनानको दक्षिण भूभाग (इजरायलसँगको सीमा)लाई आधारक्षेत्र बनाएर बसेको हिजबुल्लाहले पनि इजरायलमा रकेट प्रहार गरिरहेको छ ।

राजदूत लम्सालका अनुसार, लेबनानमा एक हजारदेखि १२ सयसम्म नेपाली कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् । अरू नेपाली होटेल तथा रेस्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् ।

“नेपालीहरू रहेको ठाउँमा असहज अवस्था देखिँदैन । हामीसँग कुरा गर्दा पनि उहाँहरूले आत्तिहाल्ने अवस्था नरहेको बताउनुभएको छ,” उनले भने ।

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा हाल ९७७ नेपाली सैनिक खटिएका छन् । शान्ति स्थापनाका निम्ति उनीहरूलाई लेबनान–इजरायल सीमानजिक खटाइएको छ ।