प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ,८ असोजः  मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ । 

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए । 

प्रसाईँ आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।