जाँदाजाँदै न्यायाधीशको हुल भर्ती गर्ने प्रधानन्यायाधीश श्रेष्ठको प्रयास असफल

अवकाशको मुखमा पुगेर पनि सर्वोच्च र उच्च अदालतमा न्यायाधीशको हुल भर्ती गरेर जाने रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको योजना असफल भएको छ । न्यायाधीश नियुक्तिबारे छलफल गर्न उनले गत शुक्रबार, आइतबार र सोमबार लगातार न्याय परिषद्को बैठक बोलाएका थिए । तीन दिन लागातार छलफल पनि भयो । तर नियुक्तिमा कुरा मिलेन ।

प्रधानन्यायाधीश श्रेष्ठले सुरुमा उच्च अदालतमा १६ न्यायाधीश नियुक्त गर्न खोजेका थिए । यसका लागि बसेको पहिलो बैठकमा कानुन मन्त्री अजयकुमार चौरसियासँग कुरा मिलेन । २० वर्ष पनि अनुभव नभएका कानुन व्यवसायीलाई न्यायधीस बनाउन चौरसियाले दबाब दिएपछि त्यो बैठक निष्कर्षविहीन भएको थियो । यता प्रधानन्यायाधीशले आफ्नै नातेदार पर्ने श्रेष्ठ थरका दुईजना कानुन व्यवसायीको नाम अघि सारेका थिए ।

पहिलो बैठकबाट निर्णय हुन नसकेपछि अन्य स्वार्थ समूह पनि सक्रिय भए । नेपाल बार एसोसिएसनले धर्ना र प्रदर्शन गर्‍यो । केही दिन वार्ता र दुई साता जति कार्यदलको प्रतिवेदनका नाममा समय खपत गरियो । कार्यदलको प्रतिवेदन आएपछि प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिको कसरत गर्न थाले ।

सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्दा उच्चमा पनि २० जनाको पद खाली हुने र भागबन्डा थप बिस्तारित गराउन सकिने उनको दाउ थियो । तर नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत र कानुनमन्त्री चौरसियाको कुरा मिलिसकेको थियो । किनभने यी तीनै जना कांग्रेस हुन् । घर जान लागेका प्रधानन्यायाधीशलाई न्यायाधीश नियुक्त गर्न नदिने उनीहरुको अडान र रणनीति अब लगभग सफल भएको छ । यसका पछाडि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पनि भूमिका रहेको बुझिएको छ । अदालतमा कल्याण श्रेष्ठ फ्याक्टरलाई कमजोर बनाउन पराजुली सक्रिय छन् ।    

अब प्रधानन्यायाधीश श्रेष्ठले चाहेर पनि बैठक गर्न सक्ने छैनन् । न्याय परिषद्का सदस्य एवं कानुनमन्त्री अजयकुमार चौरसिया आज मंगलबार उनी गृहजिल्ला पर्सा जाँदै छन् । तीन दिनसम्म उनी पर्सातिरै रहनेछन् । पर्साकै एक गाउँपालिका भवन उद्घाटन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा पनि वीरगन्ज जाँदै छन् । देउवाको सवारीमन्त्रीका रुपमा चौरसिया खटिँदै छन् । करिब तीन दिन उनी उतै भुलेपछि यता बागमतीमा धेरै पानी बगिसकेको हुनेछ । तसर्थ न्यायाधीश नियुक्तिको यो अध्याय नै बन्द भएको छ ।

अब प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश भएपछि मात्र न्यायाधीश नियुक्ति हुनेछ । आउँदो मंसिरमा हालका न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाउनेछन् । नेपाल बार एसोसिएसनले नयाँ सदस्य पठाउनेछ । त्यतिन्जेल कल्याण श्रेष्ठनिकट मानिएका केही उच्च अदालतका न्यायाधीश अवकाश भइसकेका हुनेछन् ।