प्रचण्डको सुशासन, सहकारी ठगीका अभियुक्त दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउदै

गत असार १७ गते कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो। कांग्रेस र एमालेबीच गठबन्धन भएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि प्रचण्डले दाबी गरेका थिए, भुटानी शरणार्थी, सहकारी लगायतको फाइल खोल्दा नयाँ गठबन्धन बन्यो। 

प्रचण्डको दाबी अहिले पनि छ, सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको छ।  भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले वर्तमान सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उनी सार्वजनिक मञ्चमा बताउँदै आएका छन्।तर, प्रचण्डको सुशासनशैली भने झनै खतरनाक छ।

माओवादीका सदाबहार अध्यक्ष प्रचण्डले सहकारी ठगीका अभियुक्त विद्यार्थी नेता दीपेश पुनलाई पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने तयारी गरेका छन्।  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पुन अखिल क्रान्तिकारीको बहालवाला महासचिव हुन्।पुनको त्योभन्दा ठूलो परिचय सहकारीको बचत हिनामिना गर्ने व्यक्ति सुन तस्करीमा जोडिएका नेता हुन्। 

 बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पुन गत चैतमा मात्र  ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई धरौटीमा रिहा गर्ने आदेश अनुसार उनी रिहा भए पनि मुद्दा टुंगिएको छैन। १९ हजार ३ सय ९१ सदस्य रहेको  सुप्रिम सहकारीमा ८६ करोड १८ लाख, २३ हजार अपचलन भएको प्रतिवेदन प्रहरीले तयार पारेको छ।  सुप्रिम बचत तथा ऋण सहकारीमा जीबी राई अध्यक्ष हुँदा दिपेश सचिव थिए। सहकारीको पैसा राई, दिपेश लगायतले अपचलन गरेको आरोप छ।

दीपेशमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना मुद्दामा पनि आरोप छ। यो सहकारीबाट सवा अर्ब हिनामिना भएको छ। पीडितले पुन, रास्वपा सभापति रवि लामिछानेसहित विरुद्ध पुरक उजुरी दिएका थिए। तर, अनुसन्धान थन्किएको थियो। अहिले छविलाल जोशी पक्राउ परेपछि अब पुन र लामिछाने पनि अनुसन्धानमा तानिने सम्भावना छ।

संसदीय छानबिन समितिको हालैको प्रतिवेदनले  पनि जिबी र दीपेशको कनेक्सन पुष्टि गरेको छ।  राईले आफ्नी पहिली श्रीमतीसँग दीपेश पुनको सहयोगमा सम्बन्धविच्छेदको मुद्दा जितेको र त्यसपछि उनीहरू हेलिकप्टर चढेर ओखलढुंगा सँगै पुगेको समितिको प्रतिवेदनमा उल्लेख छ। ‘उनकै सहयोगमा जीबी राईले वातावरण बनाई पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा जिते । र, हेलिकप्टर चढेर जिल्ला सदरमुकाम ओखलढुंगामा दीपेश–जीबीसँगै पुगेका थिए’, प्रतिवेदनमा उल्लेख छ।

हेलिकप्टरमा ओखलढुंगा पुगेर फर्केपछि ‘बक्सिस’का रूपमा जीबीले दीपेशहरूको टोलीलाई पोखराको फूलबारी रिसोर्टमा पार्टीसमेत दिएको अनुसन्धानले देखाएको छ। पुन सुन तस्करी र भुटानी शरणार्थी प्रकरणमा समेत संदिग्ध पात्र हुन्।  तर, माओवादी अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री रहेकाले उनले उन्मुक्ति पाएका थिए। 

दीपेशले क्रान्तिकारीको अध्यक्ष हुन पार्टी अध्यक्ष, प्रभावशाली नेताहरूलाई प्रभावमा पार्ने कसरत गरिरहेका छन्। संस्थापन पक्ष अर्थात् प्रचण्ड समूहले पनि दीपेशलाई अघि बढाउने संकेत दिएको छ।अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन १० असोजदेखि काठमाडौंमा हुँदैछ। यस सम्मेलनबाट अध्यक्षका लागि पुनसँगै नरेश रेग्मी, अच्युत भट्ट, मदन भुल, केशव रावल, जीपी मैनाली, ईन्द्र भुसाल, पवन कार्की, नारायण खनाल, प्रवीणा अधिकारी र क्षितिज सापकोटा दौडमा छन्।