सेनेगलको तटमा डुङ्गामा ३० जनाको शव फेला

अफ्रिकी देश सेनेगलको नौसेनाले राजधानी डकारको तटबाट करिब ७० किलोमिटर (४३ माइल) टाढा भेटिएको एउटा डुङ्गाबाट कम्तीमा ३० शव फेला पारेको सेनाले सोमबार जनाएको छ ।

उक्त जहाज कहाँबाट आयो थियो भन्नेबारे र मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न अनुसन्धान जारी रहेको सेनाले सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा जनाएको छ ।

सेनेगलको तटवर्ती क्षेत्रमा डुङ्गाबाट युरोप पुग्ने प्रयासमा बारम्बार दुर्घटनाहरू हुने गर्दछन् । आइतबार राति घटनाबारेमा सूचित भएपछि नौसेनाको गस्तीले माछा मार्ने डुङ्गालाई तानेर डकार बन्दरगाह ल्याएको थियो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘शव सड्ने अवस्थाका कारण उद्धार, पहिचान र स्थानान्तरण कार्य अत्यन्त जटिल बनेको छ, अहिलेसम्म ३० शवको गणना भइसकेको छ ।’

सेनेगलका तटहरू हरेक वर्ष युरोप पुग्ने आशामा धेरै आप्रवासीको प्रमुख प्रस्थान विन्दुमध्ये एक हो ।