तिब्बती नागरिकलाई नेपाली नागरिकता कसरि ?

धादिङमा झुट्टा विवरण पेशगरी तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाइएको छ । उक्त आरोपमा काठमाडौं महानगरपालिका–१०, मनमैजु बस्ने धादिङका ३१ वर्षीय मदनबहादुर तामाङ, सोह्रखुट्टे बस्ने धादिङकै ५६ वर्षीय रामेश्वर रिजाल, महाकाल बस्ने तिब्बतका ५३ वर्षीय छिरिङ ढुन्डुप र गोकर्णेश्वर नगरपालिका–८, बस्ने सिन्धुपाल्चोकका ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा पक्राउ परेका छन् ।

उनीहरुले आर्थिक प्रलोभनमा नक्कली बुबासमेत खडा गरी तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार जुवासम्बन्धी कसुरमा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट जिल्ला प्रशासन कार्यालय धादिङको ना.प्र.न २६–०१–०३२१७ नम्बरको नेपाली नागरिकता फेला परेपछि उक्त तथ्य खुलेको हो । 

अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता तिब्बत घर भई हाल काठमाडौंको महाकाल बस्ने छिरिङ ढुन्डुपले चार लाख रुपैयाँ लिएर बनाइदिएको तथ्य प्रहरीले पाएको हो । सोनामले छिरिङलाई आफ्नो नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन चार लाख रुपैयाँ दिएका थिए । 

सोनामले दिएको रकममध्ये ५० हजार रुपैयाँ आफुसँग राखेर छिरिङले उक्त कार्यमा संलग्न विभिन्न व्यक्तिलाई बुझाएको देखिन आएको छ । त्यस्तै, सोनामको सक्कली बुबा काबसान टासी रहेकोमा हर्कमान तामाङलाई नक्कली बुबा खडा गरी नागरिकता लिएको पाइएको हो । 

उक्त नागरिकता लिन सोनाम जिल्ला प्रशासन कार्यालय धादिङमा उपस्थित समेत नभएको तथ्य फेला परेको छ । यो कार्यमा संलग्न रामेश्वर रिजाल भने हाल फरार छन् । राजधानीको विभिन्न स्थानबाट हिजो पक्राउ परेका चार जनामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।