भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गर्नुभएको हो ।

“राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा उहाँले व्यक्त गर्नुभयो । “यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङमयप्रेमीले स्रस्टाको सम्मानमा कन्जुस्याँइ गर्न हुँदैन,” उहाँले भन्नुभयो । 

भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको उहाँले बताउनुभयो । “यिनको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित मुलुकको वाङ्मयकै विकासका लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उहाँको भनाइ थियो । राष्ट्रकविको जन्मजिल्ला लमजुङमा उहाँको प्रतिमा बनाएर राष्ट्रकविको विहङ्गम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भइरहेको प्रयासले छिट्टै सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।