हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना भ्रष्टाचार मुद्दामा सफाइ

विशेष अदालत काठमाडौँले  हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाईंसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। 

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु,  रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सबै प्रतिवादीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्न प्रमाण नपुग्ने भन्दै सफाइ दिएको हो । 

योसँगै उनीहरुले भ्रष्टाचारको आरोपबाट हालका लागि उन्मुक्ति पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्ध २०८० चैत १ गते  विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो  ।

चंखेली गाउँपालिका वडा नं. ३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका लागि आब. २०७४।०७५ मा छुट्टाइएको रकम अनियमितता गरेको अख्तियारको दाबी थियो । उनीहरूले नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी प्रतिवेदन बनाउने र उपभोक्तासम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेको  अभियोगपत्रमा दाबी गरेको थियो । 

खानेपानी योजनामा १० लाख ३० हजार दुई सय १७ रुपैयाँ अनियमितता भएको भन्दै अख्तियारले सोही बराबर बिगो, जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैदको माग दाबी गरेको थियो । अख्तियारले उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढालाई पनि प्रतिवादी बनाएको थियो ।​​​​​​​

चंखेली गाउँपालिका ३ का तत्कालीन वडाध्यक्ष सालीग्राम ऐडीले निर्माण कार्य सम्पन्न भई प्राविधिक अनुगमन मूल्याङ्कन भइसकेको भन्ने समेत ब्यहोरा उल्लेख गरी भुक्तानीको लागि सिफारिस गरेको दाबी अख्तियारको थियो । तर विशेषले उक्त खानेपानी आयोजनामा भ्रष्टाचार भएको पुष्टि हुन नसकेको भन्दै अख्तियारको दाबी खारेज गरेको छ।