जोशीको बयान : सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन, रवि र जीबी नै जिम्मेवार हुन्

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् ।

आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् । कास्की प्रहरी स्रोतका अनुसार, जोशीले बयानमा भनेका छन्,‘‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन् ।’’

जोशीमा थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीले पहिलोपटक पाँच दिनको म्याद पाएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार नै पोखरा पठाइएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ । प्रहरीका अनुसार, जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । जीबी राईमाथि भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो ।

हाल मलेसियामा रहेका राईमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् प्रहरीले रेड नोटिससमेत जारी गरिसकेको छ । रेड नोटिस जारी हुँदा पनि पक्राउ गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका दुईजना अधिकारीलाई मलेसिया समेत पठाएको थियो ।

मलेसिया पुगेका प्रहरीले जीबी राई बारे भने कुनै नयाँ तथ्य फेला पार्न सकेन । यद्यपी मेलेसिया प्रहरीले पक्राउ गर्न आवश्यक थप कागजात भने मागेको थियो । मलेसिया प्रहरीको मागअनुसार, नै प्रहरीले जीबी राईमाथि परेको उजुरी र अन्य कागजात समेत पठाइसकेको छ ।