प्रधानमन्त्री मात्रै भएर हुने रैन छ : अध्यक्ष दाहाल

नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीमात्रै भएर काम गर्न नसकिने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको 'प्रधानमन्त्री बन्दा काम गर्न के ले रोक्यो ?' भन्ने प्रश्नको जवाफमा उनले त्यस्तो टिप्पणी गरेका हुन् ।

“प्रधानमन्त्री मात्रै भएर हुने रैन छ । प्रधानमन्त्री भएर सबै कुरा गर्न सकिने भए त कति धेरै गर्न मन लागेको थियो नि, अलिअलि गर्दा त सुख पाइएन,” प्रचण्डले भने, “योभन्दा बढी गरेको भए त १८ महिना होइन, १८ दिनमा नै छोड्नुपर्थ्यो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राजनीतिक दलका प्रभावशाली नेताहरूले नै संघीयता मन नपराएको आरोप उनको छ । “केही राजनीतिक दल र नेतृत्वमा भएका शक्तिशाली नेताहरू नै समावेशिता, समानुपातिक, संघीयताभित्रैबाट मन पराउनुहुन्न । संविधान बनाउने बेलाका बैठकमा भन्नुहुथ्यो, माओवादीले के आँधिहुरी ल्याइदियो, मन त परेको छैन मान्नै पर्‍यो,” उनले सुनाए । 

उनले संविधान कार्यान्वयन सकेसम्म गर्न नदिने अवस्था रहेको पनि बताए । प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न भनेर पटक–पटक भन्दा गर्छौं भनेर टार्ने गरेको उनको आरोप छ । उनले प्रहरी प्रदेशलाई दिन नचाहने मनस्थितिका कारण गृहमन्त्री र प्रधानमन्त्रीले बल गर्दा कार्यान्वयन हुन नसकेको बताए ।

प्रचण्डले संविधान संशोधनको विषय उठाउँदा शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापन र बाँकी रहेका कामलाई गम्भीर ढंगले हेर्नुपर्ने बताए । प्रचण्डले कांग्रेस र एमालेबीचको सहमति संविधान संशोधनका लागि नभएको पनि जिकिर गरे । सरकारबाट आफूलाई हटाउन संविधान संशोधनको कथा बनाएको आरोप उनको छ ।

उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सहमतिको हस्ताक्षर सार्वजनिक नहुनुमा आशंका व्यक्त गरे ।“चारैतिरबाट के गर्‍यौँ भनेपछि सार्वजनिक त गर्नुभयो, त्यो पनि हो कि होइन । हस्ताक्षर चाहिँ देखिएको छैन । प्रधानमन्त्रीजीले पढेर त सुनाउनुभयो, सक्कली हो कि नक्कली भन्ने शंका छ,” प्रचण्डले भने ।