त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका लागि ५ जनाको नाम अल्पसूची सार्वजनिक

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका लागि ५ जनाको नाम अल्पसूची (सर्टलिष्ट) मा परेका छन् । 

डिन छनौट समितिले आवेदन दिएका ८ जनामध्ये ५ जनाको नाम सर्टलिष्टमा परेको हो ।सर्टलिष्टमा परेका उम्मेदवारहरूलाई भोलि असोज ८ गते प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको छ । सर्टलिष्टमा परेकाहरूमा प्राडा ताराप्रसाद भुसाल, प्राडा दुविनन्द ढकाल, प्राडा धुब्रबहादुर कार्की, प्राडा रामकृष्ण तिवारी र प्राडा सञ्जय आचार्यको नाम सर्टलिष्टमा परेको हो ।

त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम डीन पदका लागि आवेदन आह्वान गरिएको थियो । जसमा प्राडा दुविनन्द ढकाल, प्राडा रमेशकुमार श्रेष्ठ, प्राडा रामकृष्ण तिवारी, प्राडा ताराप्रसाद भुसाल, प्राडा सञ्जय आचार्य, प्रा.कृष्णराज आचार्य, डा.तुल्सीप्रसाद गौतम र प्राडा धुव्रबहादुर कार्कीले आवेदन दिएका थिए ।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थानको डिन पदका लागि १३ जनाको आवेदन परेको छ । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि ११ जना, कृषि र पशुविज्ञान अध्ययन संस्थाको डीनका लागि ५ जना, वन विज्ञान अध्ययन संस्थानको डीनका लागि ८ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनका लागि १२ जनाको आवेदन परेको छ ।

त्यस्तै व्यवस्थापन संकायको डीनका लागि ६ जना, शिक्षाशास्त्र संकायको डिनका लागि ८ जनाको आवेदन परेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक पदका लागि ८ जना, योजना निर्देशनालयको निर्देशक पदका लागि ८ जनाको आवेदन परेको त्रिविले जनाएको छ । 

 

tu