पानीको मूल्य १ सय लिएपछि जिम्बु थकालीलाई ३ लाख जरिवाना

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। अंकित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेन्टमा अनुगमन गरेको हो। 

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउँदैउनले रेष्टुरेन्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए।

‘जिम्बु थकाली रेष्टुरेन्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो। के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौँ। हामी रेष्टुरेण्टमा आयौँ। पानी मागिएको थिएन। पानी ल्याएर दिनुभयो। पानी र खाजा मःमः खायौँ। एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ। ३५ रुपैयाँ अंकित मूल्य भएको पानीलाई सय रुपैयाँ लिनुभएको रहेछ। कुनैपनि उपभोक्तालाई लेभल गरिएको हुन्छ। त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन,’ उनले भने।

साथै, उनले बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्ने बताए। ‘वाणिज्य विभागको प्रमुख ठगीमा परे। यो एउटा उदाहरण मात्रै हो। उहाँहरूले बिल लिनुपर्छ। बिल लिएर विभागमा उजुरी गरे कानुन अनुसार कारबाही गर्छौँ। चाडपर्व लक्षित बजारमा ७ वटा टोली खटाएका छौँ। भोलिदेखि अझ बढी टोली परिचालन गर्छौँ,’ उनले भने।