‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’

काठमाडौँ, ७ असोज : ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिनुभएको छ । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित ६६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  कार्यक्रममा उहाँले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ललितपुर महानगर अब्बल रहेको र  आगामी दिनमा सबै किसिमका परीक्षामा यहाँका विद्यालय र विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 “ललितपुर महानगरलाई शिक्षाको हब भनिन्छ, यहाँ शैक्षिक संस्थाहरूले उत्कृष्टता हासिल गर्दै आएका छन्, तपाईंहरूको मेहनतलाई हामी कदर गर्छाैं, एसइईको परीक्षामा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई रु दुई लाख र सामुदायिक विद्यालयलाई रु चार लाख उपलब्ध गराउने कार्यविधि तय भएको छ, सोहीअनुसार उत्कृष्टता हासिल गर्न क्रियाशील विद्यालयको, भौतिक पूर्वाधारमा पनि थप जोड दिन्छौँ”, महानगर प्रमुख महर्जनले भन्नुभयो । उहाँले महानगरमा रहेका ४० वटा सामुदायिक विद्यालयलाई प्रत्येक वर्ष नगरस्तरीय एकवटा योजना दिइएको बताउनुभयो । 

वडा नं १३ का अध्यक्ष गणेश केसीले विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनका लागि वडा तहबाट सबै किसिमको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानाध्यापक पुष्पराज जोशीले संस्कृति र संस्कार सिकाउँदै चरित्रवान् नागरिक उत्पादनका लागि विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानसमेत दिने गरिएको बताउनुभयो । उहाँले विद्यालयमा दिन प्रतिदिन विद्यार्थी सङ्ख्या बढ्दै गइरहेको अवस्थामा कक्षाकोठा तथा भौतिक संरचना अपर्याप्त रहेकाले यसका लागि आवश्यक व्यवस्थापन गरिदिन महानगर प्रमुखसमक्ष आग्रह गर्नुभयो ।