संसदीय सुनुवाइ समितिको बैठक स्थगित, कुनै पनि सांसद आएनन्

संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । सोमबार श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।

यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपनि श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृत/अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ ।

आज बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताउनुभयो । दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उहाँले आजको बैठक स्थगित भएको र मङ्गलवार बिहान ९ बजे बस्ने जानकारी दिनुभयो ।

सभापति न्यौपानेले भन्नुभयो, ‘‘आज सुनुवाइ समितिको बैठक स्थगित गरिएको छ । भोलि ९ बजे बस्नेछ । केही थप कागजातहरु पनि हामीलाई आवश्यकता भएको र थप छलफल पनि आवश्यक भएकाले समितिका सबै मान्य सदस्यहरुज्युहरुले भन्नुभयो ।’’

गत बैठकमा समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताउनुभयो । सरकारले राजदूतमा सिफारिस गरेको भोलि (मङ्गलबार) ४५ दिन पुग्ने भएकाले भोलि नै राजदूत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुङ्गो लगाउने छ ।