पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ । त्यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो । पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो ।

जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत प्रांगण पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए । रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै सहिदचोकको चौतारामा भेला भएका रास्वपाका नेता कार्यकर्ता र सहकारी पीडित केही समय आमने-सामने भएका थिए ।