ममता काफ्ले प्रकरण : नरेश भट्टको गुगल सर्च हिस्ट्री र लोकेसन हिस्ट्री प्रहरीले माग्याे

अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री र लोकेसन हिस्ट्री प्रहरीले मागेको छ।

अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेसन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन्।

अभियोजकतर्फका अधिकारीहरूले गुगलबाट प्राप्त हुने विवरण काफ्ले बेपत्ता प्रकरणमा महत्वपूर्ण प्रमाण साबित हुनसक्ने बताएका छन्।

‘जियो लोकेसन’ सहितको विवरण अनुसन्धानमा महत्वपूर्ण बन्न सक्छ’, एक अधिकारीले भनेका छन्, ‘सर्च गरेका वेबसाइटहरूबाट पनि केही क्लु हात लाग्न सक्छ।’ 

मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। नरेश पक्षका वकिलले ममता जीवितै रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए।

त्यसमाथि अदालतमा भएको सुनुवाइका क्रममा अभियोजक पक्षले गुगलसँग विस्तृत विवरण मागिएको जानकारी गराएका थिए। ममता हराएको केही समयपछि नरेशनले आफ्नो टेस्ला कार पनि बिक्री गरेका थिए।

प्रहरीले त्यसको क्यामरा फुटेज र कारबाट पनि जीपीएस लोकेसन डाटा निकाल्ने प्रयास गरिरहेको छ। अनुसन्धानमा संलग्न अधिकृतहरूले ममताको हत्या भइसकेको हुनसक्ने आशङ्का गरेका छन्।

तर, हालसम्म लास फेला नपरेकाले नरेशविरुद्ध शरीर लुकाएको अभियोग मात्र लगाइएको छ। ममता साउन  १५ बाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरू फेला परेपछि मनसास पार्क प्रहरीले भदौ ७ मा नरेशलाई पक्राउ गरेको थियो।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरूले घरबाट कार्पेट पनि लगेका थिए। अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरूले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ।

कोठाभित्र झगडापछि रक्ताम्मे भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरूको आशङ्का छ। स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएको कोठा र बाथरुमका तस्बिरहरूले पनि त्यो आशङ्कालाई बल पुर्याएको छ। 

अधिकृतहरूले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रङ्ग देखिन्थ्यो। यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरूले बताएका थिए।