दसैँ र तिहारमा हुने अपराधजन्य घटना नियन्त्रण गर्न उपत्यकामा १२ हजार प्रहरी परिचालन गरिँदै

नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिँदै छ । दसैँ र तिहारमा काठमाडौँ उपत्यका छाडेर लाखौँ मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा फर्किन्छन् ।  उपत्यका छाड्नेको लर्कोका कारण यात्रुको टिकटमा ठगी, खाद्यान्नमा कालोबजारी, चोरी र डकैतीका घटना हरेक वर्ष हुन्छन् । चाडपर्वमा सबैभन्दा धेरै अपराधका घटना काठमाडौँ, भक्तपुर र ललितपुरमा हुने गरेका छन् ।

चाडपर्वमा हुने आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरीले अहिले सुरक्षा योजना तयार गरिरहेका छन् । काठमाडौँ जिल्लामा मात्रै करिब ५ हजार प्रहरी परिचालन गर्ने गरी जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार गरिरहेको छ । विगत वर्षहरूमा भएका अपराधका घटनालाई विश्लेषण गरेर सम्भावित अपराध नियन्त्रण गर्ने गरी योजना बनिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘विगतमा लागु गरेको योजनालाई परिमार्जन गरेर नयाँ योजना बनाउँदै छौँ ।’

दसैँ र तिहारमा हुने अपराधजन्य घटना नियन्त्रण गर्न काठमाडौँका परिसर र मातहतमा डीएसपीले कमाण्ड गर्ने १४ वटा प्रहरी वृत्तले करिब ५ हजार प्रहरी परिचालन गर्दै छन् । भक्तपुर प्रहरीले पनि चाडपर्वको समयमा हुने चोरी, डकैती र जुवातास नियन्त्रण गर्न सुरक्षा योजना बनाइरहेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारी भन्छन्, ‘गत वर्षहरूका योजना र घटनाको विश्लेषण गरेर परिमार्जित योजना तयार गर्दै छौँ ।’

ललितपुर प्रहरीले दसैँ, तिहार र छठमा जिल्लाभर १ सय ८३ ठाउँमा प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाउँदै छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) नरेश सुवेदीले प्रत्येक २४ घण्टामा ३ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइरहेको  बताए । सुवेदीले भने, ‘नियमित पुलिसिङ बाहेक हुनसक्ने अपराध नियन्त्रण गर्ने गरी सुरक्षा योजना लागु गर्छौँ ।’ दसैँको समयमा शक्तिपीठहरुमा भीआईपीहरूको आवागमन हुन्छ । आवागमनलाई कसरी व्यवस्थित बनाउने भनेर ललितपुर प्रहरीले सुरक्षा योजना बनाइरहेको छ ।

उपत्यका छाडेर मानिसहरू बाहिरिँदा घर र डेरामा चोरीका घटना धेरै हुन्छन् । त्यस्ता घटना हुन नदिने गरी मातहतलाई सुरक्षा योजना बनाएर ल्याउन भनिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले बताए । उनले भने, ‘विगतको फिडब्याक लिएर सुरक्षा योजना बनाउँदै छौँ ।’

उपत्यका प्रहरी कार्यालयले मातहतका जिल्लाहरूलाई चाडपर्वको सुरक्षामा आवश्यक थप मद्दत कति चाहिन्छ भनेर सोधेको छ । चाडपर्व अवधिभर उपत्यकामा १० देखि १२ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भइरहेको एसएसपी घिमिरेले जानकारी दिए ।