अत्यधिक गर्मीका कारण ८ जना विद्यार्थी बेहोस

पर्साको पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालयका ८ जना विद्यार्थी अत्यधिक गर्मीले बेहोस भएका छन्। सोमबार अत्यधिक गर्मीका कारण छात्राहरु कक्षा कोठामा बेहोस भएको शिक्षक अनिल गिरीले बताए। कक्षा ७ र कक्षा ९ का छात्राहरु बेहोस भएका थिए।

बेहोस छात्राहरुलाई पोखरिया अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्य अवस्था सामान्य भएपछि छात्राहरुलाई घर पठाइएको विद्यालय प्रशासनले जनाएको छ। यसैबीच पोखरिया नगरपालिका कार्यालयले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयहरुमा अत्यधिक गर्मीका कारण पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै मंगलबारदेखि बिहान सत्रमा कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ। 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले मौसमको अनुकूलता अनुसार मंगलबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सबैलाई जानकारी गराइएको बताए।