सुर्खेतमा सुत्केरीको मृत्यु, आफन्त आन्दोलित

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएका छन् ।

सुत्केरी ब्यथा लागेपछि आइतबार बेलुकी प्रदेश अस्पतालमा भर्ना भएकी वीरेन्द्रनगर नगरपालिका–६ कि १९ वर्षीया शर्मिला सुनारको सोमबार बिहान पौने ३ बजे मृत्यु भएको थियो । अस्पतालले उनलाई रक्तस्राव बढी भएको र आईसीयूमा राखेर उपचार गरिको थियो ।

आफन्तहरूले भने सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिए पनि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृत्युपछि शर्मिलाका आफन्तहरू अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

अस्पताल परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तहरूसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । ‘अहिले आन्दोलन अलि शान्त भएको छ । मृतकका आफन्तहरूसँग छलफल भइरहेको छ’, उनले भने ।

प्रहरीकाअनुसार अहिले पीडित पक्षसँग अस्पताल प्रशासनले छलफल गरिरहेको छ । आफन्तहरूले भने अस्पताल परिसरमा दोषी चिकित्सकलाई कारबाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

अस्पताल प्रशासनले मृतकका आफन्तलाई जानकारी नदिएरै पहिला प्रहरीलाई अस्पतालमा बोलाएर शर्मिलाको मृत्युको जानकारी दिएको मृतककी भाउजु चन्द्रकली सुनारले बताइन् । प्रहरी आएपछि मात्र सोमवार बिहान ४ बजे प्रहरीले शर्मिलाको मृत्यु भइसकेको जानकारी दिइएको थियो ।