दुर्गा प्रसाईंका समर्थकले ट्रकमा लगाएको आगोले जलेर भारतीय नागरिक घाइते

 झापा बिर्तामोडका दुर्गा प्रसाईं पक्राउ परेसँगै जिल्लामा उनका समर्थकले उपद्रो मच्चाउन सुरु गरेका छन् । प्रसाईंका समर्थकले दुईजनालाई आगो लगाएर घाइते बनाएका छन् ।

सो उच्छृङ्खल समूहले लगाएको आगोले भारत सिलिगुडी बस्ने ४० वर्षीय  कुमार महतो र  भारत इस्लामपुरका ४० वर्षीय पोदा राय घाइते भएका छन् । महतो UP57AT4493 नम्बर र राय WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकका चालक हुन् ।

दुईवटा भारतीय ट्रकमा आगो लगाउँदा सो घटना भएको हो । दुबैजना जलाइएका ट्रकका चालक भएको झापा प्रहरीले जनाएको छ । दाहिना हातको पाखुरामा जलेका महतोको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका रायलाई विएण्डसी अस्पतालमा प्रारम्भिक उपचार पछि भारत पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रसाईंका समर्थकले गएराति सवा ११ बजे कनकाई नगरपालिका-८ को बिरिङ पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको  UP57AT4493 नम्बरको ट्रकमा आगो लगाएका हुन् ।

प्लाइ बनाउने प्रयोग हुने कच्चापदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएको समूह आगजनी गरेर फरार भएको छ । ट्रकमा अगाडिको भाग र सो कच्चापदार्थ जलेको छ ।

आगो बिर्तामोड र  दमकल नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको प्रहरी टोली मध्यराति घटनास्थल पुगेको थियो । रातिको समय र केही ढिलो गरी सूचना पाएकोले प्रहरी पुग्न समय लागेको हो।

प्रसाईंका समर्थकले आज बिहान पौने ३ बजे बिर्तामोड नगरपालिका-६ गिरीबन्धु टी इस्टेट नजिक  पूर्वपश्चिम राजमार्गमा  WB73E3056 नम्बरको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकमा समूहमा आएका व्यक्तिले  आगो लगाएका हुन् ।

ट्रकमा लगाइएको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको  इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर छ ।

त्यस्तै गएराति साढे आठ बजे बिर्तामोडको पश्चिम  बसस्टेण्डमा प्रसाईंका समर्थकको एक समूह तीनवटा टायर बालेर फरार भएको छ । आगजनीमा सम्लग्नको खोजी भइरहेको तर पक्राउ पर्न नसकेको झापा प्रहरीले जनाएको छ ।

सुरक्षालाई ध्यान दिएर झापा प्रहरीले हिजो साँझ  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई पक्राउ गरेको थियो ।

बिर्तामोड घर भएका मैनाली र शिवसताक्षीका राई पक्राउ गरेपनि प्रसाईंका समर्थकहरुले झापामा अप्रिय घटना गराएका हुन् ।

काठमाडौंबाट प्रसाईं पक्राउ पर्ने बितिक्कै उनका समर्थकले झापामा आज चक्काजाम आव्हान गरेका छन् । रातिको समयमा आगजनी र अराजक गतिविधि भएपनि बिहानैदेखि यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।