दुर्गा प्रसाईँको अनैतिक र अराजक क्रियाकलापको भारी किन बोक्दै छन् सांसद शर्मा

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेसका सांसद एवं मेडिकल व्यवसायी डा‍‍‍.सुनीलकुमार शर्मा त्यसको विरोधमा उत्रिएका छन् । बोलेकै आधारमा पक्राउ गर्नु राज्य आतंक भएको उनको टिप्पणी छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित निवासमै गएर साइबर ब्युरोको टोलीले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । गत बुधबार जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अदालतको अनुमति लिएर पक्राउ गरिएको र तत्कालै अदालतमा पेसी गरी अनुसन्धानका लागि म्याद लिएर कानुनी प्रक्रिया पूरा गरिसकिएको विषयमा पनि सांसद शर्माले राजनीतिक शैलीमा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘जनताको आवाज बोल्ने दुर्गा प्रसाईं जस्ता अभियन्तालाई राज्यले यसरी पक्राउ गर्नु चरम राज्य आतंक हो । यसको घोर भत्र्सना गर्नुपर्छ।’

यति मात्र होइन । यसको विरोधमा देशभरका जनता आन्दोलनमा उत्रिन आह्वान गर्दै सांसद डा‍‍‍ शर्माले समाजमा उत्तेजना फैलाउने खालको अभिव्यक्ति समेत दिएका छन् । ‘अहिलेको राज्यसत्ता जनताको पक्षमा छैन । सरकार दमनमा उत्रिएको छ, जनताको आवाज दबाउन खोज्दैछ । अब सबै नेपाली जनताले डटेर यसको विरोधमा उत्रिनुपर्छ ।’

अदालतलाई समेत दबाब र प्रभावमा राख्ने प्रकृतिको अभिव्यक्ति समेत शर्माले दिएका छन् । कांग्रेसजस्तो शक्तिशाली पार्टीका सांसद शर्माले राज्य आतंकका विरुद्धमा न्यायालयको भूमिका निकै महत्वपूर्ण रहने र कुनै राजनीतिक दलको गन्ध आउन नदिई स्वतन्त्र निर्णय गर्न भनेका छन् । 

दुर्गा प्रसाईका अभिव्यक्ति सार्वजनिक नैतिकता र सदाचारको कसीमा राख्ने हो भने निकै आपत्तिजनक रहँदै आएका छन् । उनले सार्वजनिक सभा समारोहदेखि युट्युबहरुमा अन्तर्वार्ता दिँदा पनि स्त्रीद्वेषी अभिव्यक्ति दिँदै आएका छन् । परिवारका सबै सदस्यले बसेर हेर्न समेत नमिल्ने प्रकृतिको उनको भाषा र शैली व्यक्तिको चरित्रहत्या र मानहानि हुने प्रकृतिको छ । उनको यो छाडा शैली ढिलोचाँडो कानुनी कारबाहीको दायरामा आउनु स्वाभाविक थियो । 

त्यस खालको निम्नस्तरको अभिव्यक्ति दिने र अर्काको आत्मसम्मानमा चोट पुर्‍याउने व्यक्तिको बचाउमा देशको सांसदजस्तो गरिमामय पदाधिकारी उभिनु अर्को आश्चर्यजनक र लज्जाजनक छ । प्रसाईले विगतमा आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएकामा विद्रोहस्वरुप केही सामाजिक र कानुनी नियमका घेरा तोडेर आफ्ना आवाज बुलन्द गर्नु ठिकैपनि मानिन्थ्यो होला तर सर्बोच्च अदालतले 


आदेश दिइसकेर सम्बन्धन तथा एमबीबीएसको सिट पनि पाइसकेपछि पनि जथाभावी बोल्दै हिँड्नु भनेको सामाजिक नैतिकता र सदाचारविपरीत हो । आफ्नो पेसा व्यवसाय छाडेर यस खालका अभिव्यक्ति दिने र समाजमा अनैतिकता र अराजकताको विष छरेर हिँड्नेलाई पनि कानुनी कारबाही नगर्ने हो भने यहाँ राज्य छ भनेर पनि कसरी मान्ने?

यस्तो अराजक शैलीलाई छूट दिँदै जाने हो भने भोलि यो समाज न समाजजस्तो रहनेछ, न राज्य राज्यजस्तो रहनेछ । जंगली युगमा रहेको समुदाय भनेर नेपाललाई विश्वभर चिनिनेछ । छोरीचेलीहरू यो समाजमा बस्नै नसक्ने अवस्था आउनेछ ।

सांसद शर्माले पनि आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा नहानेकै वेश । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई बचाए । रविले पनि ओलीको जयजयकार गरे । अहिले आएर तिनै रविलाई ओलीले जेलको हावा खुवाउँदै छन् । सांसद शर्माले पनि विगतमा ओलीको महिमामण्डन गरेकै हुन् । अहिले दुर्गा प्रसाईजस्ता स्तरहीन व्यक्तिको बचाउ गर्न खोज्दा आफै कानुनी फन्दामा पर्ने जोखिमतर्फ पनि विचार गर्नु उचित हुन्छ । 

डा शर्मा र दुर्गा प्रसाईको मूल पहिचान व्यापारी हो । व्यापारीले गर्ने भनेको पहिलो काम व्यापार व्यवसाय हो । आफ्नो व्यापार व्यवसाय स्वतन्त्रतापूर्वक गर्न नपाए विरोध र विद्रोहको हतियार छँदै छ । कानुनी लडाइँ लड्न पनि सकिन्छ । तर व्यापार व्यवसाय छाडेर समाज भाँड्न हिँड्ने र त्यस्तैको बचाउमा लाग्ने हो भने त्यस्तो प्रवृत्तिलाई कानुनले उचित उपचार गर्छ र गर्नैपर्छ । चेतना भया ।