युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताउनुभएको छ ।

 उहाँले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

“रूसी प्रतिनिधिहरू तथाकथित ‘बर्गेनस्टक प्रक्रिया’ अन्तर्गत कुनै पनि बैठकमा सहभागी भएका छैनन् र त्यसो गर्ने योजना पनि छैन । यो प्रक्रियाको वास्तविक द्वन्द्व समाधानसँग कुनै सरोकार छैन”, उहाँले मन्त्रालयको वेबसाइटमा भन्नुभयो । 

शिखर सम्मेलनको उद्देश्य द्वन्द्व समाधानको एकमात्र आधारका रूपमा अव्यावहारिक जेलेन्स्की सूत्रलाई प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समर्थन खोज्ने र रूसलाई आत्मसमर्पणका लागि अल्टिमेटम जारी गर्ने मञ्चका रूपमा प्रयोग गर्नु रहेको प्रवक्ता जाखारोभाको भनाइ थियो । 

उहाँले सङ्कटको कूटनीतिक समाधानलाई रुसले अस्वीकार नगरेको भन्दै विकसित भू–राजनीतिक यथार्थ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १४ मा प्रस्ताव गर्नुभएको पहललाई प्रतिबिम्बित गर्ने गम्भीर प्रस्तावहरूमा छलफल गर्न खुला रहेको बताउनुभयो ।
    
उहाँका अनुसार रुस र उसको हितलाई ध्यानमा नराखी न्यायपूर्ण तथा दिगो समाधान हासिल गर्न असम्भव छ । कुर्स्क क्षेत्रमा भर्खरै युक्रेनी आक्रमण र रूसी भू–भागमा प्रहार गर्न लामो दूरीका नाटो हतियारहरूको प्रयोगलाई उदाहरण दिँदै जाखारोभले किएभ र पश्चिमी मुलुकहरूले शान्तिभन्दा युद्धमा ध्यान केन्द्रित गरेको भनी आलोचना गर्नुभयो ।