मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । 

सङ्ग्रहालयमा थारू समुदायको कला, संस्कृति, रीतिरिवाज, वेशभूषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तथा लोप हुने अवस्थामा पुगेका वस्तुहरु संरक्षण गरेर राखिएका छन् । पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको उक्त सङग्रहालयमा थारू समुदायको जन्म, मृत्यु, विवाहलगायत संस्कारसँग जोडिएका चित्र, मूर्ति, गरगहना, वेशभूषालगायत राखिएका छन् । 

सङ्ग्रहालय पछिल्लो समय थारू कला, संस्कृतिको सोधकर्ताका लागि आकर्षणको थलो बन्दै गएको छ । यहाँ धेरैजसो विद्यार्थीहरु थारू समुदायको संस्कार अध्ययन गर्न आउने गरेका थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो । 

सङ्ग्रहालय अवलोकन गर्न मुख्यमन्त्री आचार्यसँगै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापालगायत आउनुभएको थियो ।