इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु

काठमाडौँ, ६ असोजः इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ ।

“तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो ।

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ ।

स्थानीय समयअनुसार शनिबार राति ९:०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ ।

मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ ।

सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पु¥याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ ।

इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ ।

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्कियानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । 

“दुर्भाग्यबस, तबासको एउटा कोइला खानीमा एउटा दुर्घटना भएको छ र हाम्रा धेरै प्रियजनहरूले ज्यान गुमाएका छन्। म उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछु,” पेजेस्कियानले भन्नुभयो । 

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले ‘आपतकालीन फलोअप’ सुनिश्चित गर्न र पीडित र उनीहरूका परिवारका लागि सहयोग सुनिश्चित गर्न मन्त्रीपरिषद्का सदस्यहरूसँग कुराकानी गरेको इर्नाले जनाएको छ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ।

स्थानीय अभियोजक अली नेसेईलाई उद्धृत गर्दै इर्नाले भनेको छ, “खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको छ।”

“अहिले हाम्रो प्राथमिकता घाइतेलाई सहयोग गर्नु र भग्नावशेषमुनिबाट मानिसहरूलाई निकाल्नु हो,” नेसेईले भन्नुभयो। 

उहाँले भन्नुभयो, “सम्बन्धित संस्था वा खानीका अधिकारीको लापरबाही र गल्तीबारे छानविन गरिनेछ ।” 

गत वर्ष उत्तरी शहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी छ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो । 

सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।