इजरायली सेनाद्वारा कब्जामा रहेकाे वेस्ट बैंकको न्युज च्यानल अल जजिराको कार्यालयमा छापा

इजरायली सेनाले आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहस्थित न्युज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ। उसले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश पनि दिएको छ।

आइतबार बिहान सशस्त्र तथा मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारण भइरहेकै बेला अल जजिराको कार्यालयमा प्रवेश गरेको बीबीसीले जनाएको छ। 

त्यसपछि उनीहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल-ओमारीलाई न्युज च्यानल ४५ दिन बन्द गर्न आदेश दिएको बीबीसीले जनाएको छ। जुन दर्शकले लाइभ हेरिरहेका थिए। 

अल जजिराले भनेको छ, ‘यसरी पत्रकारहरूलाई निशाना बनाउनुको उद्देश्य सत्य मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो।’ 

गत अप्रिलमा इजरायलको संसद्‌ले एउटा कानुन पारित गरेको थियो, जसले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी समाचार प्रसारकलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिएको छ।