श्रीलंकामा देशभर कर्फ्यु

काठमाडौँ, ५ असोज : करिब २ वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि श्रीलंकामा पहिलोपटक शनिबार राष्ट्रपतीय निर्वाचन भएको छ। 

बीबीसीका अनुसार मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको छ।मुलुकमा शान्तिपूर्ण रूपमा मतदान भए पनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर देशव्यापी रूपमा कर्फ्यु लगाइएको अधिकारीहरुले जनाएका छन्।

श्रीलंकामा मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिएका छन्। यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ।

प्राप्त तथ्यांकले मुलुकमा करिब ७० प्रतिशत मतदान भएको देखाएको छ।श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्मकै बढी ३८ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि छन्। 

श्रीलंकाको राष्ट्रपति चुनावमा हुलाक भोटको प्रारम्भिक नतिजाले प्रमुख वामपन्थी नेता अनुरा कुमारा दिसानायका अगाडि रहेको देखाएको छ।

हुलाकी मतपत्र सकिएपछि शनिबार हालिएको कागजी मतको गणना गरिनेछ।सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो। त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो।

त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्नुपरेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो।