‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’

काठमाडौँ, ५ असोजः विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न  जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् । संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उहाँहरूको भनाइ छ । 

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही सिफारिस गरिएकाले सोहीअनुसार कार्यान्वयन हुनुपर्ने बताउनुभयो । संसदीय समितिको प्रतिवेदनले धेरै कुरा प्रष्ट पारिसकेकाले अब सभापति लामिछाने र उहाँ पक्षधरले गलत कुराको वकालत गर्न जरुरी नरहेको प्रधानको भनाइ छ । “लामिछानेका बारेमा प्रतिवेदनले स्पष्ट रूपमा कारबाही सिफारिस गरेको छ । अब पनि गलत कार्यको प्रतिरक्षा गर्नु राम्रो होइन । हाम्रो पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गर्नुपर्ने समितिको सिफारिस छ, त्यसैले उहाँले अनुसन्धानमा सहयोगका लागि तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट अलग रहनुपर्छ”, उहाँले भन्नुभयो । 

साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले प्रतिवेदनले प्रष्ट पारिसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ, कतिपयले त्यसमा नभएका कुरालाई पनि अतिरञ्जित गर्न थालेका छन् । यसमा सचेत हुनुपर्ने छ ।” 

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेको संलग्नताबारे अझै पुष्टि नभइसकेको दाबी गर्नुभयो ।