राष्ट्रिय झण्डाको हरिबिजाेक

राष्ट्रिय झण्डाले कुनैपनि मुलुकको प्रतिनिधित्व गर्छ । राष्ट्रिय झण्डाको सम्मान गर्नु सबै नागरिकको दायित्व हो । बिडम्बना, मुलुकमा संविधान दिवसकै दिन राष्ट्रिय झण्डाको अपहेलना भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हिजो राजधानीको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ को आयोजना गरियो । 

कार्यक्रममा युवाहरुको ठूलो उपस्थिति थियो । हरेकको हातमा राष्ट्रिय झण्डा देखिन्थ्यो । नेपाली झण्डा फहराउँदै उनीहरु सांस्कृतिक कार्यक्रममा झुमेका थिए । साँझपख प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा उपस्थित हुनुभयो । उहाँको ‘लुक्स’ लाई लिएर सर्वसाधारणले विभिन्न कोणबाट समर्थन र विरोध गरेका छन् । 

सहभागी युवाहरुले कार्यक्रम सकिएपछि झण्डा सडकमै फालेर हिँडेको दृश्यले खिन्न बनाएको छ । हिजो साँझ दरबारमार्गका सडकमा यत्रतत्र राष्ट्रिय झण्डा फालियो । राष्ट्रिय दिवसको दिन राष्ट्रिय झण्डाको अपमान गरिएको भन्दै राष्ट्रिय झण्डाको महत्व थाहा नभएकाहरुले झण्डालाई बिजोग बनाएकोमा सामाजिक सञ्जालमा आपत्ति जनाइएको छ ।

सामाजिक सञ्जालमा भेटिएको छ, ‘देश र राष्ट्रिय झण्डाप्रतिको माया यसैबाट प्रष्ट भयो ।’  राष्ट्रवादीहरु भएको भए झण्डाको यो हविगत हुँदैन थियो ।