इजरायल र हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना

 इजरायल र लेबनानमा सक्रिय अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना बढेको छ ।

इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा भीषण बमबारी सुरु गरेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ ।

लेबनानमा भएका पेजर र वाकीटकी विष्फोटसँगै हिजबुल्लाहले कडा प्रतिक्रिया दिने अनुमान गरिएको थियो ।उसका नेता हसन नसरुल्लाहले बिहीबार बेलुका सार्वजनिक सम्बोधन गर्दै यसलाई युद्धको घोषणा भनेका छन् ।

उनले सम्बोधन गरिरहँदा इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरिरहेको थियो ।नसरल्लाहले इजरायलसँगको हिसाब छिट्टै चुक्ता गर्ने चेतावनी दिएका छन् । इजरायलले हिजबुल्लाहका अखडामा बमबारी गरेको जनाएको छ ।

यस्तै इजरायलले लेबनानसँगको सीमाक्षेत्रमा भएको झडपमा आफ्ना दुई सैनिक मारिएको बताएको छ । हिजबुल्लाहको आक्रमणमा उनीहरु बिहीबार मारिएका हुन् ।

मंगलबार र बुधबार भएका पेजर र वाकीटकी बिष्फोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । ३५ सयभन्दा धेरै घाइते भएका छन् ।

हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ । उसँग करिब १ लाख रकेट भएको अनुमान छ ।