शशिकला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय काफ्ले र ढकाल पुरस्कृत

काठमाडौँ, ४ असोजः सहिद स्मृति प्रतिष्ठानले स्थापना गरेको ‘शशिकला स्मृति पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत हुनुभएको छ ।

संविधान दिवसका अवसरमा आज इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकारद्वय काफ्ले र ढकाल जनही नगद रु सात–सात हजार र सम्मान्पत्रसहित पुरस्कृत हुनुभएको हो । पुरस्कृत पत्रकारद्वय काफ्ले र ढकाललाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वप्रदेशसभा सदस्य धिरेन्द्र शर्माले सम्मानपत्र र चेक हस्तान्तरण गर्नुभयो ।

काफ्ले लोकल सन्देश अनलाइनमा र ढकाल इलाम एफएममा आबद्ध हुनुहुन्छ । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको नाममा स्थापित प्रतिष्ठानले तीन वर्षअघि सहिद पत्रकार शशिकला शर्माको स्मृतिमा सो पुरस्कार स्थापना गरेको थियो । यसअघि सो पुरस्कार इलामका लेखक÷पत्रकार रीता राराहाङ, नाटककार÷पत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसक्नुभएको छ ।

तत्कालीन क्रान्तिकारी पत्रकार सङ्घमा आबद्ध शर्मालाई सशस्त्र सङ्घर्षका बेला २०६० असोज २६ गते राज्यतर्फबाट इलाम नगरपालिका–३ स्थित पुवामझुवामा गोली प्रहार गरी हत्या गरिएको थियो । शर्मा माओवादीले प्रकाशन गरेको तत्कालीन देउमाई गर्जन पत्रिकाको सम्पादकका साथै माओवादीकी जिल्ला सदस्य र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

उहाँकै नामबाट सहिद स्मृति प्रतिष्ठानले पत्रकारिता पुरस्कार स्थापना गरेको हो । सशस्त्र सङ्घर्षको क्रममा इलाममा सरकारबाट माओवादीतर्फ ८६ जनाको हत्या भएको थियो ।