नागरिकस्तरबाट मनाइएको पहिलो ‘नेशनल डे कन्सर्ट’ले संविधान दिवसको रौनक बढायो

काठमाडौँ, ३ असोजः संविधान दिवसका अवसरमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ मनाउने घोषणा भएसँगै काठमाडौँको दरबारमार्ग क्षेत्रमा केही दिनअघिदेखि नै चहलपहल फेरिएको थियो । 



              
              
              

              


              
              

दुई दिनअघिबाट प्रहरीले उक्त मार्गबाट सवारी आवागमन बन्द गरेर यातायात ‘डाइभर्ट’ गरेको थियो । जसले यातायात आवागमनमा अन्य क्षेत्रमा चाप परे पनि संविधान दिवस भव्य रूपमा मनाउने कार्यक्रम सार्वजनिक भएपछि छुट्टै उल्लास छाएको थियो ।

नेपाल टेलिकमबाट एसएमएसमार्फत नै हरेकका मोबाइलमा उक्त कार्यक्रमबारे सूचना प्रसारण भएपछि नागरिकहरू स्वतःफुर्त रूमपा आज अपराह्न ४ बजेअघि नै दरबारमार्गमा राष्ट्रिय झण्डा बोकेर आइपुगेका थिए । 

झण्डा नल्याउनेहरूलाई झोलामा झण्डा बोकेर आएकाहरूले उपलब्ध गराएका थिए । जसका कारण दरबारमार्ग राष्ट्रिय झण्डाले राताम्य भएको थियो, जुन विजयीको उत्सवभन्दा फरक थिएन । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका मन्त्रीहरू सहभागी हुँदा संविधान दिवसको रौनकता थपिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईको पनि सहभागिता थियो ।

छोटो समय उपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो । नागरिकस्तर र कलाकारबाट यो भव्य कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रूपमा मनाउन सबैमा आग्रह गरेर झण्डा फहराउँदै कार्यक्रमबाट बाहिरिनुभयो ।उहाँ उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ...’ बोलको गीत प्रस्तुत भएको थियो । सहभागीहरूले सङ्गीतको तालमा नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । लामो सङ्घर्षपछि कयौँ नेपालीहरूले ज्यान आहुति दिएर प्राप्त भएको उपलब्धिले २०७२ साल आजकै दिन संविधान जारी भएको थियो । त्यही खुसीयालीमा आजको दिनलाई संविधान दिवसका रूपमा मनाउन थालिएको हो । यसअघि सरकारीस्तरबाट अभियान चलाएर दिवस मनाउने गरिएको थियो । टुँडिखेलमा विशेष समारोह हुन्थ्यो भने सरकारी कार्यालयबाहेक अन्य क्षेत्रमा खासै कार्यक्रम हुन्थेन । तर आज दरबारमार्गमा भएको समारोहले संविधान दिवसको महत्त्व बढाएको सहभागीहरूले प्रतिक्रिया दिए ।अपराह्न ४ बजेदेखि सुरु भएको नेशनल डे कन्सर्ट राति ठिक ८ः३० बजे सकिएको थियो । कन्सर्टमा सुरक्षाकर्मीसहित विभिन्न ब्याण्ड तथा कलाकारले दिएको प्रस्तुति (गीत सङ्गीत)मा उपस्थित दर्शक मजैले झुमे । अधिकांश प्रस्तुति राष्ट्रिय भावनाले ओतप्रोत थियो । उनीहरूले राष्ट्रिय झण्डा फहराउँदै संविधान जारी गर्नुअघिको सङ्घर्ष सम्झिए भने नेपाली जनता आफैँले बनाएको संविधानको स्थायित्वको कामना पनि गरे ।कन्सर्टको सुरुमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिँदा नै उपस्थित दर्शकले मनोरञ्जन लिन थालेका थिए । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले दिएको प्रस्तुतिलाई दर्शकले खुलेर साथ दिए । बीचबीचमा आतिसबाजी गर्दा राष्ट्रिय दिवस तथा संविधान दिवस महाउत्सवमा परिणत भएको थियो । नेपाली समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेशनल डे काउन्सिलले पहिलोपटक नागरिकस्तरबाट सर्वसाधारणका लागि यो अवसर प्रदान गरेको हो । उक्त समारोहमा सहभागी अधिकांशले राष्ट्रिय झण्डा फहराएका थिए भने दरबारमार्ग क्षेत्र महाउत्सवझैँ देखिएको छ । झण्डाले राताम्मे भएको छ । कार्यक्रममा कुटुम्ब ब्याण्डलगायत कलाकारले प्रस्तुति दिए ।सुरुमा गायक सञ्जय तुम्रुकले ‘देशले रगत मागे मलाई बलि चढाउनु’ गीतबाट कलाकार प्रस्तुतिको दैलो उघार्नुभएको थियो । अनि गायिका देवीका बन्दनाले ‘नेपाली भएर बाँच्न पाऊँ’ गीत गाउनुभयो । गायक आनन्द कार्की ‘यो देश बन्छ’ गीत गाउँदा गायिका कुन्ती मोक्तानले शिलाबहादुर मोक्तानको सङ्गीत र बुद्धवीर लामाको रचनामा रहेको ‘लालीगुराँस अजम्बरी चम्पा चमेली, जे भने नि हुन्छ हजुर म त नेपाली’ गीत प्रस्तुत गर्नुभयो । समारोहमा गायक सुगम पोखरेलले पछिल्लो समयमा देशमा घृणा फैलिरहेकामा चिन्ता प्रकट गर्दै दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यु बज्राचार्यको सङ्गीत रहेको ‘नयाँ नेपाल’बाट ‘हामी नेपाली, हाम्रै हो नेपाल, तराई पहाड हिमाल’ बोलको गीत पस्किनुभयो । सुवानी मोक्तानले ‘मेरो देश मलाई लाग्छ प्यारो’ गाउनुभयो भने गायक दीपक लिम्बूले पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गर्नुभएको थियो ।‘नेशनल डे कन्सर्ट’को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । सो क्षेत्र भएर आवातजावत हुने सवारीसाधनलाई आज यातायात ‘डाइभर्ट’ गरिएको थियो भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ व्यवस्थापन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

 

Community Verified icon