गाजामा आक्रमण बन्द नभएसम्म रोकिदैनौँ : हिजबुल्लाहका प्रमुख

 हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुखहसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गरेका छन् 

इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ । लेबनानलाई आतङ्कित बनाउने मङ्गलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिए ।

आक्रमणलाई सम्भावित ‘युद्धको कार्य’ का रूपमा वर्णन गर्दै उनले इजरायलले ‘कठोर प्रतिशोध र न्यायपूर्ण सजाय’ को सामना गर्नुपर्ने चेतावनी दिए । ‘युद्ध अपराध वा युद्धको घोषणा हुन सक्थ्यो’ भन्दै उनले आक्रमणलाई ‘नरसंहार’को नाम दिए । उनले इजरायलले ‘दुई मिनेटमा कम्तीमा पाँच हजार मानिसलाई मार्न चाहेको’आरोप समेत लगाए ।

उनले गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने प्रतिज्ञा गर्दै “यति धेरै रगत बगे पनि गाजामा आक्रमण बन्द नभएसम्म लेबनानको मोर्चा नरोकिने' धारणा राखे ।