‘संविधानको पूर्ण कार्यान्वयन जरुरी’

काठमाडौँ, ३ असोज : संविधानसभा सदस्य दुर्गाजयन्ती राईले संविधान कार्यान्वयनमा ठूला राजनीतिक दलका नेताहरु उदासिन देखिएको बताउनुभएको छ । 

संविधान दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ खोटाङले आज दिक्तेलमा आयोजना गरेको ‘संविधानसम्बन्धी परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएकी नेत्री राईले ठूला दलका नेताहरुले संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । 

संविधानसभाबाट संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि संविधानसँग बाझिने कतिपय पुराना ऐन÷नियमावली तथा कानुन संशोधनमा नेताहरुले चासो नदिएकोप्रति नेत्री राईले दुःखसमेत व्यक्त गर्नुभयो । 

“संविधानसँग बाझिने ऐन, नियमावली तथा कानुनहरु संशोधन गरेर अगाडि बढ्नुपर्नेमा त्यसप्रति नेताहरुले चासो दिएको देखिँदैन । पुराना ऐन, नियमावली तथा कानुन संशोधन नहुँदा धेरै अप्ठ्याराहरु देखिएका छन्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले  संविधान संशोधन सबैको सहमतिमा हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले नेपालको संविधान गतिशील भएकाले समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने अवस्था आएको धारणा राख्नुभयो । 

“सहमतिमा निर्माण गरिएको संविधान सहमतिमै संशोधन गर्नुपर्छ । कुनै अमुक दलको स्वार्थ पूर्ति हुनेगरी संशोधन गर्नुहुँदैन”, उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभाका दुई तिहाइ बहुमतले संविधान संशोधन गर्न सकिन्छ भन्ने संविधानमै उल्लेख छ । वर्तमान संविधानलाई समयसापेक्ष संशोधन गरेर चलायमान बनाउनुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले नागरिकले नागरिकता पाउने अधिकार संविधानको मौलिक हकमै उल्लेख भएको बताउनुभयो । त्यस अवसरमा जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरे, दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हीराकुमार राई, नेपाल बार एशोसियसन नेपाल खोटाङका सचिव ओमप्रकाश घिमिरेलगायतको उपस्थिति थियो ।

संविधान दिवस मूल समारोह समितिले तीन दिनदेखि विभिन्न कार्यक्रमगरी दिवस मनाइरहेको छ । स्वास्थ्य शिविर, सरसफाइ, विभिन्न प्रतियोगितात्मक कार्यक्रमलगायत गर्दै संविधान दिवस मनाउनेक्रम जारी रहेको मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले जानकारी दिनुभयो ।