‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’

काठमाडाैँ, ३ असोजः संविधानविद् नीलाम्बर आचार्यले संविधान संशोधन गर्नुअघि व्यापक समीक्षा जरुरी रहेको बताउनुभएको छ । 

    नेपाल रेडियो नेटवर्कको आठौँ वार्षिकोत्सव र संविधानको नवौँ वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रलाई थप समृद्ध बनाउन संविधान संशोधन आवश्यकता रहेको समेत उल्लेख गर्नुभयो । “मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व जरुरी छ र त्यसका लागि संविधान संशोधन राम्रो आधार हुनसक्छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान संशोधन समावेशीसम्बन्धी व्यवस्था हटाउनका लागि नभएको प्रष्ट पार्नुभयो । “संविधानलाई समयानुकूल बनाउन संशोधन अनिवार्य छ”, उहाँले भन्नुभयो, “जनता चाहनाअनुरुप राष्ट्रिय सहमतिमा नै संशोधन हुन्छ ।” 

पूर्वमन्त्री एवं नेकपा (एमाले)का सचिव पद्माकुमारी अर्यालले विगतको अनुभव, वर्तमान सन्दर्भ र भविष्यको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभयो ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रदेश मन्त्रीको सङ्ख्या बढाउने र कार्यकर्तालाई रोजागर दिने थलोका रुपमा प्रयोग भएको उल्लेख गर्दै त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संविधान संशोधन गर्न सकिने दस्तावेज भएको उल्लेख गर्दै संशोधन विधि र प्रक्रिया संविधान अनुकूल नै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले     संविधान संशोधन सबैको साझा सहमतिमा हुनुपर्ने उल्लेख गर्नुभयो । 

अधिवक्ता टीकाराम भट्टराईले जनताले निर्माण गरेको संविधानमा सीमान्तकृत समुदायलाई समेत समेट्नका लागि संशोधन जरुरी रहेको बताउनुभयो । 

त्यस अवसरमा नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी, उमेश श्रेष्ठ र अजयबाबु शिवाकोटीलगायतले संविधान संशोधनमा व्यापक र बहस र छलफल गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल रेडियो नेटर्वकका अध्यक्ष ऋषि धमलाले संविधान निर्माण प्रक्रियामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै संविधान संशोधनमा पनि सञ्चारमाध्यमले निरन्तर खबरदारी गरिरहने बताउनुभयो ।