दृष्टिविहीनका लागि चिप बनाउँदै न्युरालिङ्क

एलन मस्कको ब्रेनचिप स्टार्टअप न्युरालिङ्कले तयार पारेको डिभाइसले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट परीक्षणका लागि स्वीकृति पाएको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै न्युरालिङ्कले ‘ब्लाइन्डसाइट’​ नामको डिभाइसले परीक्षणका लागि स्वीकृति पाएको उल्लेख गरेको हो ।

कम्पनीले यसलाई ‘ब्रेकथ्रु डिभाइस’को ट्याग दिइएको छ । प्राणघातक अवस्थाको उपचार वा निदान गर्न सहयोग पुर्‍याउने चिकित्सा उपकरणलाई यस्तो नाम दिने गरिन्छ । 

हाल यो डिभाइस विकासकै क्रममा छ । स्वीकृति पाइसकेपछि अब यसको विकास तीव्र गतिमा हुने अपेक्षा गरिएको छ । “अप्टिक नर्भ गुमाएर दुवै आँखा देख्न नसक्ने बिरामी यस डिभाइसको सहायताले देख्न सक्नेछन्,” एलन मस्कले एक्समा भनेका छन् । 

यो डिभाइस मानवमा कहिले परीक्षण हुन्छ भन्ने विषयमा केही जानकारी दिइएको छैन । 

मस्क र अन्य इन्जिनियरको एक समूहले सन् २०१६ मा न्युरालिङ्क स्थापना गरेको थियो । अपाङ्ग व्यक्तिहरूलाई हिँडडुल र सञ्चार गर्न सघाउने उद्देश्यले मानव मष्तिष्कमा चिप प्रत्यारोपण गर्ने अवधारणाका लागि यस कम्पनीको सुरुवात भएको थियो ।

यही कम्पनीले निर्माण गरेको नयाँ चिपले दृष्टि फर्काउन सघाउने बताइएको छ । यस्तो डिभाइसलाई फोन वा कम्प्युटरबाटै नियन्त्रण गर्न सकिने कम्पनीको भनाइ छ ।

न्युरालिङ्कले पक्षघात भएका बिरामीमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सुरु गरिरहेको छ । सबैभन्दा पहिले न्युरालिङ्क चिप प्रत्यारोपण गरेका व्यक्तिले सोचेकै भरमा कम्प्युटर प्रयोग गर्न सक्ने जनाइएको छ । 

नयाँ चिपको सन्दर्भमा भने यो परीक्षण दृष्टि गुमेका तीन जनामा गरिने छ । यो परियोजना सम्पन्न गर्न कति समय लाग्छ भन्ने खुलाइएको छैन ।