क्यामरुनले बाँध खोलेपछि नाइजेरियाद्वारा बाढीको चेतावनी

छिमेकी क्यामरुनले आफ्नो एउटा बाँधबाट पानी छोड्ने भएपछि नाइजेरियाका अधिकारीहरूले यसका मुख्य नदीमध्ये एउटाबाट कम्तीमा ११ राज्य बाढीको जोखिममा रहेको चेतावनी दिएका छन् ।

जलस्रोतको व्यवस्थापन गर्ने सङ्घीय संस्था नाइजेरिया हाइड्रोलोजिकल सर्भिसेज एजेन्सी (एनआइएचएसए) का महानिर्देशक उमर इब्राहिम मोहम्मदले क्यामरुनका अधिकारीहरूले मुलुकको उत्तरी क्षेत्रमा लाग्डो बाँधबाट ‘नियन्त्रित जल छाड्ने’ योजना बनाइरहेको बताउनुभयो । 

उहाँले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा सेप्टेम्बर १७ देखि पानी छाड्ने तालिका थियो भन्नुभएको छ । उक्त पानी नाइजेरियाको बेन्यु नदीसम्म आउनेछ र मुलुकको उत्तर–पूर्व, उत्तर–मध्य, दक्षिण–दक्षिण र दक्षिण–पूर्व क्षेत्रका समुदायहरूमा बाढी आउन सक्ने अपेक्षा गरिएको छ । 

“बेन्यु नदी प्रणालीसँग जोडिएका सबै राज्यका लागि बाढीको सम्भावित प्रभावहरू कम गर्न सतर्कता बढाउन र पर्याप्त तयारीका उपाय लागु गर्न अत्यन्त आवश्यक छ”, मोहम्मदले भन्नुभयो । 

क्यामरुनका अधिकारीहरू बाँधबाट पानी छाड्ने विषयमा टिप्पणी गर्न तुरुन्तै उपलब्ध थिएनन् । राज्यहरूलाई तयारी गर्न दिइएको चेतावनीका बाबजुद मोहम्मदले बाँधको पानी छोड्दा आफूले ठूलो क्षति हुने आशा नगरेको बताउनुभयो । नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता इजेकिल मन्जोले कुनै पनि सम्भावित बाढीका लागि तयारी गरिरहेको बताउनुभयो । “हामीले राज्यहरूलाई चेतावनी दिइरहेका छौँ”, उहाँले भन्नुभयो । 

व्यापक वर्षा र क्यामरुन बाँध खोल्दा नाइजेरियामा विगतमा ठूलो मात्रामा बाढी आएको छ । सन् २०२२ मा मुलुकमा एक दशकको सबैभन्दा खराब बाढीमा पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १४ लाख विस्थापित भएका थिए । 

नाइजेरियामा पछिल्लो गम्भीर बाढीको प्रकोपमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने उत्तरपूर्वी सहर मैदुगुरीमा चार लाख मानिसलाई उनीहरूको घरबाट बाहिर निकालिएको छ । आपत्कालीन अधिकारीका अनुसार करिब १० लाख मानिस विस्थापित हुनसक्छन् । 

यस वर्ष सेप्टेम्बर १८ सम्म नाइजेरियामा बाढीबाट कम्तीमा दुई सय ८५ जनाको मृत्यु र छ लाख ४० हजारभन्दा धेरै मानिस विस्थापित भएको एनइएमएले प्रकाशित गरेको आँकडामा उल्लेख छ । करिब एक लाख २७ हजार पाँच सय हेक्टर कृषिभूमि प्रभावित भएको छ । क्यामरुनको गारौआ सहरदेखि ५० किलोमिटर दक्षिणमा तीन सय मिटरको लाग्डो बाँध सन् १९८२ मा निर्माण सम्पन्न भएको थियो र यसले मुलुकको उत्तरी क्षेत्रमा विद्युत् आपूर्ति गर्दछ ।