उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण

उत्तर कोरियाले बुधबार बिहानै छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको सोलको सेनाले बताएको छ । एक सातामा प्योङयाङको यो दोस्रो हतियार परीक्षण हो । 

नेता किम जोङ उनको शासनले यस वर्ष दर्जनौँ प्रक्षेपण गरेको छ । विशेषज्ञहरूले यो परीक्षणको हिस्सा उत्तर कोरियाद्वारा युक्रेनमा प्रयोग गर्नका लागि सहयोगी रुसलाई हतियारको कथित अवैध आपूर्तिसँग जोडिएको हुनसक्ने बताएका छन् । प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण उसले यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र हालै आणविक–सक्षम हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको छ । 

उत्तर कोरियाले हालै किमको शासनको प्रमुख समर्थक आफ्ना विदेशमन्त्रीलाई एक वर्षभन्दा पनि कम समयमा दोस्रो भ्रमणका लागि मस्को पठाएपछि यो प्रक्षेपण भएको हो । उत्तर कोरियाले अक्टोबरमा संसदीय बैठकको तयारी पनि गरिरहेको छ । बैठकमा दुवै कोरियाबीच शत्रुतापूर्ण सम्बन्धलाई आफ्नो संविधानमा समावेश गरी दक्षिण कोरियासँगको तनावलाई बढाउने उपायलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । 

प्योङयाङले ‘स्थानीय समयानुसार बिहान करिब ६ः५० बजे उत्तरपूर्वमा प्रक्षेपण गरेको छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइलहरू पत्ता लगाएको र तिनीहरूको विश्लेषण गरिरहेको’ सोलको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस) ले बताएको छ । 

जेसिएसले भनेको छ, “अतिरिक्त प्रक्षेपणको तयारीमा हाम्रो सेनाले सहयोगीहरू टोक्यो र वासिङ्टनसँग जानकारी साझा गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।”टोक्योले पनि प्रक्षेपाणको पुष्टि गरेको छ । जापानको तटरक्षकले एउटा मिसाइल पहिले नै खसेको बतायो । “जहाजहरू कृपया अगाडि आउँदै गरेको सूचनाहरूलाई ध्यान दिनुहोस् र यदि तपाईंले खसेको वस्तुहरू देख्नुभयो भने कृपया नजिक नजानुहोस् बरु यसको सूचना तटरक्षकलाई दिनुहोस्”, तटरक्षकले विज्ञप्तिमा भनेको छ । 

जापानका रक्षामन्त्री मिनोरु किहाराले पछि मिसाइलहरू ‘उत्तर कोरियाको अन्तरदेशीय क्षेत्रको पूर्वी तट वरपर खसेको देखिन्छ’ भन्दै त्यसैले ‘जापानको इइजेड (विशिष्ट आर्थिक क्षेत्र) बाहिर छ’ भन्नुभयो । उहाँले कुनै क्षति नभएको जानकारी दिनुभयो ।सोलको सेनाले मिसाइलहरू उत्तर कोरियाको दक्षिण फ्योङगान प्रान्तको काचोन क्षेत्रबाट प्रहार भएको र करिब चार सय किलोमिटरसम्म उडेको बतायो । 

सोलको जेसिएसले विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको मिसाइल प्रक्षेपण कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने उक्साहट हो र हामी यसको कडा निन्दा गर्दछौँ ।”