‘राष्ट्रिय आवश्यकतामा आधारित भएर रेल्वे नीति बनाउनुपर्छ’

काठमाडौँ, २ असोज : नेपाललाई रेल्वे विकासमा अगाडि बढाउन ढिला गर्न नहुने विभिन्न राजनीतिक दलका नेता एवं यस क्षेत्रका जानकारहरूले जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा रेल्वे विकासको रोडम्याप’ विषयक अन्तक्र्रियाका वक्ताहरूले बढ्दो जनसङ्ख्यालाई ध्यान दिँदै देशको दीर्घकालीन हितका लागि रेल्वे विकासमा जोड दिएका हुन् । 

कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले राष्ट्रिय आवश्यकतामा आधारित भएर रेल्वे नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले अबको २० वर्षभित्र हुने नेपालको जनसङ्ख्या, देशको आवश्यकता तथा अर्थतन्त्र विकासका लागि आवश्यकपर्ने यातायात गुरुयोजना तयार गर्न आवश्यक छ भन्नुभयो । 

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बागमती प्रदेश सांसद डा दिनेशचन्द्र देवकोटा यातायातको एकीकृत मास्टर प्लान आवश्यक भएको बताउँदै काठमाडौँमा मेट्रो रेल बनाउन ढिला गर्न नहुने बताउनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले रेल्वे विकासविना समृद्धि हासिल हुन कठिन हुने बनाउनुभयो । जल, रेल, हवाई र सडकको एकीकृत योजनामा यातायातको विकास आवश्यक रहेको बनाउँदै सचिव शर्माले दीर्घकालीन रुपमा देशको फाइदा हेर्दा रेल्वेमा जानुपर्ने बताउनुभयो । 

रेल्वेसम्बन्धी विज्ञ तथा स्क्याप नेपालका अध्यक्ष ठाकुर शर्माले आमजनतामा चेतनाको कमी भएका कारण रेल्वे विकासमा कठिनाइ हुने गरेको बताउँदै भौगोलिक विकटता, संस्थागत क्षमता, रेल्वेसम्बन्धी मानवीय जनशक्ति विकास र परिचालन, आर्थिक स्रोतको व्यवस्थापन, वातावरणमैत्री बनाउनेजस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । 

पूर्वअर्थसचिव, लालशङ्कर घिमिरेले रेल्वेले सहरीकरण, रोजगारी, पर्यटन, वातावरणमैत्री, ग्रामीण विकासमा फाइदा पु¥याउने भए पनि नेपालमा रेल्वे आर्थिक रुपले चुनौतीपूर्ण देखिएको बताउनुभयो । रेल्वेमा जाँदा पहिला काठमाडौँमा रेल्वे बनाउनुपर्नेमा घिमिरेको जोड थियो ।