राससकर्मी पौडेललाई ऋषिलीला पत्रकारिता पुरस्कार

पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१’ यस वर्ष राष्ट्रिय समाचार समिति(रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई प्रदान गरिने भएको छ ।

पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु-याउनुभएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापकसमेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पत्रकार पौडेललाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८१ का अवसरमा आगामी असोज १५ गते एक समारोहकाबीच पुरस्कृत गरिनेछ । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।

अग्रज पत्रकार रविन्द्र बास्तोलाको संयोजकत्वमा गठन गरिएको प्रतिभा छनोट समितिले पत्रकार पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । वृद्धाश्रम सञ्चालक समितिको बैठकले छनोट समितिको सिफारिस अनुमोदन गरेको वृद्धाश्रमका सचिव धर्म गुरुङले जानकारी  दिनुभयो ।
    
छनोट समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पूर्ववडासदस्य पार्वती थापा एवं पदेन सदस्यमा वृद्धाश्रमका अध्यक्ष कुुसुमकेशव पराजुुली र सचिव धर्मबहादुर गुरुङ रहनुुभएको थियो ।

पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु-याउनुभएका प्रजातन्त्र सेनानी एवं पोखरा वृद्धाश्रमका संस्थापक अध्यक्ष स्व ऋषिकेशव पराजुली र उहाँका धर्मपत्नी लीलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । 

पत्रकारिताका माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई वृद्धाश्रमले बर्सेनि सम्मान गर्दै आएको छ । 
 
विसं २०५३ मा स्थापना भई असहाय एवं विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको पोखरा वृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक, १० जना अपाङ्गता भएका व्यक्तिहरु एवं स्याहारकर्ताले आश्रय लिँदै आउनुुभएको छ । आश्रमले विशेषगरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।