अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सेमी–इलेक्ट्रिक ट्रकमा लाग्याे आगो

टेस्ला कम्पनीको अर्धविद्युतीय ट्रकमा आगलागी भएको छ । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सेमी–इलेक्ट्रिक ट्रकमा आगो लागेको हो । 

उक्त ट्रकमा लागेको आगो निभाउनको लागि ५० हजार ग्यालन (१.९० लाख लिटर) भन्दा बढी पानी प्रयोग गर्नुपरेको अमेरिकाको नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड(एनटीएसबी)ले जनाएको हो ।  यो घटना गएको महिना घटेको एनटीएसबीले बताएको छ ।

घटना गएको महिना क्यालिफोनिर्याको इन्टरस्टेट ८० मा ताहो तालको पश्चिममा घटेको हो । मोडमा ट्रक एउटा रुखसँग ठोक्किएर भिरालो ठाउँबाट खसेको थियो । तर यस घटनामा चालकलाई धेरै चोट लागेन । गाडीमा लागेको आगो निभाउन अग्नि नियन्त्रककर्मीहरूले पानी बाहेक विमानबाट आगो निभाउने पदार्थहरू पनि फ्याकेका बताइएको छ । 

ट्रकमा आगो लागेको समयमा यसमा जडित ब्याट्री १ हजार  फरेनहाइटसम्म तातिएको थियो । यो घटनाका कारण सो राजमार्ग १५ घण्टासम्म बन्द रहेको थियो । आगो लागेको सेमी ट्रकको डिजाइन सन् २०१७ मा टेस्लाका सीईओ एलन मस्कले सार्वजनिक गरेका थिए ।

त्यतिबेला उनले सन् २०२० देखि ट्रक बजारमा आउने भनेका थिए । तर अहिलेसम्म पनि व्यापक स्तरमा ट्रक बन्न सुरु भएको छैन ।