अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्पेस मिसन सफल

अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको स्पेस मिसन सफल भएको छ । स्पेस एक्सको पोलारिस डन क्रु आज अर्थात् सेप्टेम्बर १६ मा पृथ्वीमा फर्किएको छ । व्यवसायिक स्पेस वाक लगायतको मिसन पूरा गरेर ड्र्यागन अन्तरिक्ष यान फ्लोरिडाको ड्राई टोर्टुगास कोस्टमा दिउँसो १ः०६ बजे अवतरित भएको थियो ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने समयमा अन्तरिक्ष यान २७ हजार किलोमिटर प्रतिघण्टाको गतिमा थियो । हावासँगको घर्षणले गर्दा यानको बाहिरी हिस्सा १ हजार ९०० डिग्री सेल्सियससम्म तातो थियो ।

मस्कको कम्पनी स्पेश एक्सले सेप्टेम्बर १० मा फाल्कन–९ रकेटबाट यसको प्रक्षेपण गरेको थियो । यो ५ दिनको मिसनमा ४ जना अन्तरिक्ष यात्री पृथ्वी कक्षको १ हजार ४०८ दशमलव १ किमीमा गएका थिए । यो ५० वर्षभन्दा बढी समयसम्म कुनै पनि अन्तरिक्ष यात्री गएको कक्षको सबैभन्दा अग्लो उचाइ हो । कुनै पनि अन्तरिक्ष अभियानको सबैभन्दा कठिन खण्ड पृथ्वीमा फर्किनु हो । सुरक्षित रूपमा फर्किन ड्र्यागन क्याप्सुलले डी–अर्बिट बर्न सुरु गर्‍यो ।

यसमा अन्तरिक्ष यान लगभग २७ हजार किलोमिटर प्रति घण्टाको गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो । चार मिटर चौडा यस यानमा बाहिरी हिस्साको तातोले अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित राख्न हिट शिल्ड जडान गरिएको थियो । 

यान ओर्लिएसँगै यसको गति सुस्त भयो । यसको गति अझै सुस्त बनाउन जमिनको नजिकै आइपुग्दै गर्दा प्यारासुट खोलेर यानलाई पानीमा अवतरण गरियो । एउटा विशेष डुङ्गामा उद्धार टोली पहिले नै त्यहाँ उपस्थित थिए । क्याप्सुलबाट अन्तरिक्ष यात्रीहरूलाई हटाउनुअघि, उद्धार टोलीले अन्तिम सुरक्षा जाँच गर्‍यो, त्यसपछि तिनीहरूले यानलाई पानीबाट जमिनमा ल्याए ।