कोलकाता पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा थप दुई जना पक्राउ

भारतको कोलकाता पुर्‍याएर काठमाडौँका एक युवकको मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरका अमन शाह र चन्द्रागिरिका नारान परियार रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोही घटनामा संलग्न ललितपुर महालक्ष्मी–८ का ३७ वर्षीय शङ्कर खत्री र मकवानपुरको भीमफेदीका शान्तिमाया घलानलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । गत चैतमा कोलकातास्थित आमरी अस्पतालमा लगेर मिर्गौला बेच्ने समूहमा संलग्न भएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरी अनुसान्धान अघि बढाएको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन पाउने प्रलोभन देखाएर शान्तिमाया घलानले आफ्नै खाजा पसलमा काम गर्ने ३२ वर्षीय युवकलाई मिर्गौला तस्करसँग भेटघाट गराएकी थिइन् । नारान परियारले मिर्गौला तस्करीको गिरोह सदस्य रहेको र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई प्रलोभनमा पारेर नक्कली कागजपत्रसमेत तयार गरी मिर्गौला तस्करी गर्ने गरेको खुलेको छ ।