कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन, एनजी आएका ६१० विद्यार्थीको नतिजा परिवर्तन

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै १३३ जनाको ए ग्रेड आएको छ । गत वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा साउन १८ गते सार्वजनिक भएको थियो ।जसमा एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको थियो । नतिजामा चित्त नबुझेकालाई साउन मसान्तभित्र पुनर्योगका लागि निवेदन दिन आह्वान गरिएको थियो । जसमा ४० हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए ।

तीमध्ये साउन २७ गतेसम्म निवेदन दिएका विद्यार्थीहरूको पुनर्योगको नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरूमार्फत बोर्डमा सम्पर्क गर्न भनेको छ ।पुनर्योगको नतिजामा समेत चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने विद्यार्थीले कक्षा १२ को पुनर्योगको अन्तिम चरणको नतिजा प्रकाशन भएपश्चात् १५ दिनभित्रमा तोकिएको शुल्क बुझाई निवेदन दिनुपर्नेछ । त्यसका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।

बोर्डले चिकित्सा शिक्षा आयोगबाट प्राप्त भएको विवरण अनुसार चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी भएका एवं पुनर्योगको निवेदन दिने अन्तिम दिन (भदौ २ गते)सम्म निवेदन दिएका सबै विद्यार्थीको पुनर्योगको नतिजा प्रकाशन भइसकेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।