भलिबल खेलाडीलाई चन्दा उठाएको पैसाबाट दिइन्छ ५ हजार तलब, बालेनले हरेकलाई दिए एक लाख पुरस्कार

काठमाडौं। काभा वुमन्स नेसन्स लिगमा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो। फाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको नेपाल उपविजेता बन्यो।

बुधबार भएको फाइनल खेल हेर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायतका नेताहरू पुगेका थिए।

सरकारले टोलीलाई सम्मान गर्न सकेको छैन। बरु काठमाडौं महानगर एक कदम अघि देखिएको छ। महानगरले बिहीबार भलिबल खेलाडीलाई जनही एक लाखका दरले नगद पुरस्कार दियो। सरकारले वर्षाैदेखि घोषणा गरेका पुरस्कारसमेत दिन नसकेका बेला महानगरले हातोहात पुरस्कार दिएको हो।

क्याप्टेन अरुणा शाही तथा खेलाडीहरु निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठले नगद पुरस्कार पाएका हुन्।

त्यति मात्र होइन टिम म्यानेजर नीलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिस्ट लोकेन्द्रबहादुर कुँवरले पनि ५० हजारका दरले पुरस्कार पाए।

भलिबल नेपालको राष्ट्रिय खेल हो। तर, खेलाडीलाई सुविधा निकै कम छ। भलिबल खेलाडीले मासिक ५ हजार मात्र तलब पाउँछन्। यो पनि अमेरिकामा बस्दै आएका पूर्वखेलाडीले उठाएको चन्दाबाट नेपाल भलिबल संघले तलब दिन थालेको हो। तलब पाउन थालेको पनि ११ महिना मात्र भएको छ।

यो तलबले महिनाभरि चना र अण्डा खान पुग्दैन। ०७४ जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि धेरैको आशा थियो।  राष्ट्रिय खेलको मान्यता पाएको ७ वर्ष पुरा हुँदासम्म भलिबलको अवस्थामा खासै सुधार भएको छैन। खेल्न एउटा राम्रो कभर्डहल छैन।