मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेकाे छ : निर्माण उद्योग परिषद्

नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको बताएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो ।

महासचिव देउजाले संकटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको बताउनु भयो । उहाँले विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्नेकुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको पनि बताउनु भयो । बजारमा पैसा पु-याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्नेगरी मौद्रिक नीति आएको बताउनु भयो ।

उहाँले मौद्रिक नीतिले व्यवसायीहरु बाहिर निस्किने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगत तीन÷चार वर्षको कोभिड पछिको राम्रो मौद्रिक नीति आएको छ । संसार नै कोभिडबाट अछुतो रहन सकेन । नेपालमा यो ४ वर्षको आर्थिक आँकडालाई हेर्ने हो भने संकटको डिलमा पुगिसकेको परिस्थिति थियो । केही सर्टेन सूचकले छैन त्यो परिस्थिति भन्ने पनि देखियो । तर निजी क्षेत्रको दृष्टिकोणले हेर्दा एकदमै असहज र संकटपूर्ण परिस्थितिमा नेपालको आर्थिक अवस्था छ भन्नेकुरा बैंकहरुमा रहेको डिपाजिटलाई हेर्दा पनि क्लियर हुन्छ । बैंकमा यत्रो डिपोजिट छ, हामीसँग रोजगारी छैन । बजेट खर्च भइरहेको छैन । सरकारले भुक्तानी गर्न सकिरहेको छैन । विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गरेर हामीसँग भइरहेका रिसोर्सहरुलाई कुन ढंगले एउटा परिधिभित्र राखेर जाँदा सहज हुन्थ्यो होला भन्ने ढंगले राष्ट्र बैंकले बिस्तारै अध्ययन गरेर मौद्रिक नीतिमा यस्ता धेरै कुराहरु राखेको छ । यसले धेरै ढोकाहरु खोलेको छ । नेपाल सरकारको बजारमा पैसा पुर्याउने पहिलो माध्यम निर्माण क्षेत्र हो । यो अवस्था बन्द रहेको थियो । अब विभिन्न क्षेत्रमा सहजता प्रदान गरेको कारणले अब व्यवसायीहरु बाहिर निस्किने वातावरण सिर्जना गरेको छ । मौद्रिक नीति राम्रो आयो । यसले समग्र निजी क्षेत्रलाई अघि जाने, सुचारु हुने अवस्था सिर्जना गरेको छ । यो मौद्रिक नीतिले एउटा बिरामीलाई जसरी भेन्टिलेटर उपलब्ध भएपछि आफ्नो रोग रिकभर गर्दै जान्छ, त्यो अवसर यसले दिएको छ । सबै समस्या समाधान भएका होइनन्, अरु थुप्रै समस्या छन् । भुक्तानीकै समस्या छ । भुक्तानी भन्दा पनि पहिलो प्राथमिकता दिनुपर्ने क्षेत्र यो थियो । किनभने हामी बाहिर निस्किएर हिँड्नसक्ने परिस्थिति पनि थिएन । यति ठूलो संकट निर्माण क्षेत्रमा अहिलेसम्म आएको थिएन ।’

उहाँले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले उठाएका धेरै मागहरु सम्बोधन गरेको बताउनु भयो । राष्ट्र बैंकबाट जारी हुने निर्देशिकाहरुमा चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउँदै यस्तै निर्देशिका आए निर्माण क्षेत्रमा भएको संकुचन फुक्ने बताउनु भयो । मौद्रिक नीतिको कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको पनि बताउनु भयो ।

 
थप सामग्री : https://ehimalayatimes.com/2024/07/252187/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news