पुष्पखेती प्रवर्द्धनका लागि विदेशी नर्सरी प्राविधिकबाट प्रशिक्षण

 

काठमाडौँ, १२ साउन : फ्लोरिकल्चर एशोसिएसन नेपालले पुष्पखेतीको थप विकास र विस्तारका लागि विदेशी नर्सरी प्राविधिकको टोलीसहित विभिन्न जिल्लामा प्रशिक्षण सञ्चालन गरिरहेको छ । 

हरेक वर्ष बढिरहेको बजार मागलाई स्वदेशी उत्पादनले धान्नका लागि फूलखेतीको थप विकास र माटो सुहाउँदो उत्पादन बढाउन नेदरल्याण्ड्सबाट दक्ष प्राविधिकसहितको टोलीले तालिम दिइरहेको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । अहिले चितवन र  इलाममा तालिम सकिएको छ भने अन्य केही जिल्लामा पनि सञ्चालन गर्ने तयारी छ ।

हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म फूलको माग बढ्ने गरेको छ । उक्त माग धान्नका लागि उत्पादन बढाउनुपर्ने अवस्था छ । त्यसैले सम्भावित जिल्लामा विदेशी विज्ञबाटै तालिम सञ्चालन गरिएको अध्यक्ष तामाङले भन्नुभयो ।
 
तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले पुग्ने गरेको भए पनि तिहारमै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै नटरेको तामाङ बताउनुुभयो ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एशोसिएसनले बताएको छ । 
 
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा लगभग पाँच सय नर्सरी विस्तार भएका छन् ।  

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएको बताइएको छ । नेपालमा लगभग दुई सय ४० हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

वर्षाको समयमा कटफ्लावरको बिक्री बढी  

अन्य समयमा भन्दा वर्षात्को समयमा सजावटका लागि प्रयोग गरिने (कट फ्लावरको) व्यापार बढी हुने बताइएको छ । वर्षाको समयमा उत्सव कम हुने भएकाले अन्य फूल कम बिक्री भए पनि कटफ्लावर बढी बिक्री हुने गरेको छ । अहिले अन्य फूल लगाउने समय भएकाले बेर्ना बिक्री हुने गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा पुष्प व्यवसायमा रु तीन अर्ब ६८ करोड ७२ लाखको कारोबार भएको छ ।