हेटौँडाबाट डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत छात्रवृत्ति परीक्षामा सहभागी भएका ५ जना नक्कली परीक्षार्थी पक्राउ

हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सिटिईभिटीद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा सहभागी भएका ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

हेटौँडा ४ स्थित भुटनदेवी माविबाट ४ जना र हेटौँडा २ मा रहेको सिद्धार्थ माविबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । बाराको परानीपुर नगरपालिका २ बस्ने २० वर्षका नरेन्द्र महतोले रौतहटका १९ वर्षका असाब आलमको परीक्षा दिइरहेको अवस्थामा फेला परेका हुन् ।

 यस्तै चितवनको भरतपुर महानगरपालिका ८ का १५ वर्षका रुपेश यादवले सोही स्थानका १८ वर्षका निमेष राय यादवको परीक्षा दिएको, सर्लाहीको विष्णु गाउँपालिका ७ का १८ वर्षका राजीवकुमार राउतले सिराहाका १८ वर्षका ललनकुमार यादवको परीक्षा दिएको, रौतहटको गरुडा नगपालिका २ का १८ वर्षका लालबाबु सहनीले सर्लाहीका १८ वर्षका सुनिल महतोको परीक्षा दिएको र धनुषा उपमहानगरपालिका १२ का २० वर्षका रमेश यादवले बाराको पचरौता गाउँपालिका ५ का राकेशकुमार ठाकुरको नामको परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालले जानकारी दिए । 

अर्काको नाममा परीक्षा दिनेहरू अधिकांश तराई मदेसका रहेको उनले बताए । हेटौडासहित देशैभर शनिबार डिप्लोमा र प्रि–डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको परीक्षा सञ्चालन भएको थियो । नक्कली परीक्षार्थीहरूलाई मुद्दा दायर गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी प्रमुख रिजालले बताए ।