सौर्य एयरलाइन्स विमान दुर्घटनामा : दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझे

गत असार ९ (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन्। 

पोस्टमार्टमको काम सकिएपछि शुक्रबार र शनिबार मृतकका आफन्तहरूले शव बुझेका हुन्। शव हस्तान्तरण कार्यमा सहभागी भएका एक प्रहरी अधिकारीका अनुसार, शनिबार १२ जना मृतकका आफन्तले शव बुझेका छन्। शुक्रबार ५ परिवारले शव बुझेका थिए। विमान दुर्घटनामा परेर १८ जनाको निधन भएको थियो। निधन भएकामध्ये एक जना विदेशीको शव भने दूतावासको समन्वयमा पठाउने तयारी थालिएको छ। बाँकी १७ जनाकै परिवारले शव बुझेको ती प्रहरी अधिकारीले जानकारी दिए। 

दुर्घटनामा परेर सौर्य एयरलाइन्सकै कर्मचारी रहेका यमनका नागरिक अरेफ रेडाको पनि मृत्यु भएको थियो। उनको शव सम्बन्धित दूतावाससँग समन्वय गरेर प्रक्रिया पूरा गरी बुझाउने तयारी गरिएको छ।विमानमा १९ जना सवार थिए। तीमध्ये विमानमा कम्पनीकै १७ जना कर्मचारी, १ जना पाइलट र अर्का एक जना कोपाइलट थिए।

पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्यवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।